नारायण गोपाल भन्थे– ‘भ्रष्टलाई मृत्युदण्ड दिनुपर्छ’

मकवानपुर न्यूज
१९ मंसिर २०७७, शुक्रबार १३:३७

२०४० सालमा मैले नारायण गोपाललाई स्वरसम्राट् या स्वरका ‘वादशाह’ लेखेको थिएँ । त्यतिबेलै उनले मलाई भनेको कुरा पनि मैले मेरो ‘केही चर्चित अनुहार’ नामक जीवनीग्रन्थमा छापेको थिएँ । उनी भन्थे– ‘भ्रष्टलाई कठोर सजाय वा मृत्युदण्ड दिनुपर्छ । यस्तो कार्यमा राज्यले पछि पर्नु हुँदैन ।’ अनि उनले मलाई त्यति बेलै भनेका थिए– ‘मलाई मन पर्नेहरूमध्ये बीपी कोइराला, मास्टर मित्रसेन र मेलवादेवी हुन् ।’ साथै २०४६ सालपछिका दिनमा बुलु मुकारुङ र मेरा अगाडि उनले भनेका थिए– ‘मलाई मन नपर्ने मान्छेमध्ये एक जना गिरिजाप्रसाद कोइराला पनि हुन् ।’

नारायण गोपाल भूगोलमा नेपाली गीत गाउने एक जना शिखर पुरुष थिए । उनको गीत सुनेर दार्जिलिङका प्रा. राजनारायण प्रधानले त्यसै बेला आफ्नो ‘केही अनुहार ः केही झलक’ नामक कृतिमा लेखेका थिए– ‘नारायण गोपाल नबजेको कुन नेपाली घर होला ? उनी स्वरका ईश्वर ! पृथ्वीमा सबभन्दा मधुर ध्वनि उनी ! उनी सुरका देवता ! उनी सुराका पनि देवता ! उनले मन्दिरमा बसेर पिए, मसानमा लडेर पिए, नाचेर पिए, पिउँदिन भन्दै पिए र अगस्त्यमुनिले जस्तै पिए । उनी सिग्रेट खान्थे त्यस्तै । उनी रेलले जस्तै धुवाँ फ्याँक्थे । तर पनि उनी नेपालका एक अमर पुत्र थिए ।’ वास्तवमा नारायण गोपाल त्यस्तै अमर र अजर कलाकार थिए ।

नारायण गोपाललाई बचाउन खोज्ने दुई कोटीभन्दा धेरै नेपाली थिए । तर मन, वचन र कर्मले उनको प्राण रक्षा गर्न दुई जना नेपाली अग्रसर थिए । उनलाई अन्तिम प्रहरसम्म पनि बचाउन रानी ऐश्वर्य खुबै लागिपरेकी थिइन् । रानी ऐश्वर्यले नै उनलाई निको पार्न आफ्नै निजी खर्चमा थाइल्यान्ड पठाएकी थिइन् । अनि नारायण गोपाललाई बचाउन हरेक उपायबाट लागिपरेका अर्का मनकारी बसन्तकुमार चौधरी थिए । अन्तिम अवस्थासम्म पनि उनको हरपल सेवा, टहल र हेरविचार गर्ने एकै जना कोही थिए भने पनि तिनै बसन्तकुमार चौधरी नै थिए । नारायण गोपाल अचेत हुँदा पनि प्रायः चौबीसै घण्टा वीर अस्पतालमा बस्ने पनि चौधरी नै थिए । साथै चौधरीले नारायण गोपालको भौतिक चोला रहेकै बेला उनैका सामुन्ने भारी राशिसहितको ‘नारायण गोपाल सम्मान’ को आविष्कार गरिदिए । अनि त्यो सम्मान उनको शेषपछि पनि निरन्तर कायम भई नै रह्यो । वास्तवमा नै चौधरीले नारायण गोपाललाई कति श्रद्धा गर्थे भने अति गर्थे । साँच्चै भन्ने हो भने नारायण गोपाल नै त्यस्ता एक जना प्रिय, श्रद्धेय र आदरणीय कलाकार थिए जसलाई धेरै, धेरै र अझै धेरैले मानिरहे । त्यस्ता महामानवको म सङ्क्षिप्त रामकहानी प्रस्तुत गरिरहेको छु—

एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा

एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा ।

नारायण गोपालले गाएका गीतमध्ये चाँदनी शाहको रचना र दीपक जङ्गमको सङ्गीत पनि सर्वप्रिय बन्यो । उनका प्रायः प्रत्येक गीतले जनजनको हृदयको ढुकढुकीलाई छुने गर्छन् । नेपाली गीति संसारमा नारायण गोपाल नै एउटा भाग्यमानी गायक हुन् जो नेपालका प्रत्येक गाउँबेँसी, पहाड कन्दरा र तराईका घरघरमा सुपरिचित, श्रद्धेय र प्रिय छन् ।

नारायण गोपाल प्रसिद्ध सितारवादक आशा गोपाल गुरुवाचार्य तथा रामदेवी गुरुवाचार्यका सुपुत्रका रूपमा काठमाडौँको किलागलमा १९९६ साल असोज १८ गते जन्मेका थिए ।

नारायण गोपालले सानैदेखि सङ्गीतमा रुचि राखे । आफ्ना बाबु सङ्गीतका साधक भएको हुँदा नारायण गोपाललाई सानैदेखि सङ्गीतमा पिङ मच्चाउने वातावरण पैदा भएको थियो । त्यसै वातावरणमा नारायण गोपालको सङ्गीतप्रतिको मोह, परिश्रम र लगनशीलता हुर्कंदै झाङ्गिदै र मौलाउँदै जान थाल्यो । उनी शास्त्रीय सङ्गीतमा आराधना गर्दै जान थाले । त्यसपछि उनले क्रमशः शास्त्रीय र आधुनिक सङ्गीतमा सँगसँगै पाइला चाल्न थाले । परिणाम स्वरूप उनले सर्वप्रथम रेडियो नेपालको स्टुडियोमा २०१७ सालमा एउटा आधुनिक गीत रेकर्डिङ गराए–

स्वर्गकी रानी मायाकी खानी नजाऊ तर्केर

लाजै नमानी रिसाउने बानी छाडी आऊ फर्केर ।

नारायण गोपालले रत्नशमशेर थापाका शब्द र आफ्नै सङ्गीतमा केही गीत गाए । गाउँदागाउँदै उनी नेपाली आधुनिक गायनका महेश्वर बने, उनी आधुनिक नेपाली गायनका शिखर बने र उनी पृथ्वीमा सबैभन्दा मीठो नेपाली गीत गाउने साधक बने । उनले जीवनको सबै भाग नेपाली सङ्गीतको उत्थान, विकास र समृद्धिमा चढाएका थिए । उनले नेपाली आधुनिक गीतलाई देशदेशान्तरमा पुर्याएका थिए । संसारमा जहाँजहाँ नेपाली बस्छन् त्यहाँत्यहाँका नेपालीले नारायण गोपालका मधुर, कर्णप्रिय र सुमधुर स्वर सुन्ने गर्छन् । उनी नेपाली स्वरका एउटा प्रतिनिधि गायक थिए, सर्वाधिक लोकप्रिय गायक थिए र ओजस्वी स्वरलहरीका गायक थिए । उनको स्वरमा जादु हुन्थ्यो । त्यसैले उनले गाएपछि जुनसुकै गीत पनि उच्चकोटिको हुन्थ्यो । वास्तवमा उनी शब्द चुनीचुनी गीत गाउँथे । उनी गीत गाउँदा जनभाका गाउँथे । त्यसैले उनका गीत श्रोताहरूले अत्यधिक मन पराए–

आँखा छोपी नरोऊ भनी भन्नुपर्या छ

मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ ।

नारायण गोपालले आफ्नै सङ्गीतमा कालीप्रसाद रिजालका शब्दमा चारवटा गीत गाएका थिए । उनी एउटा संवेदनशील सङ्गीतकार थिए । उनले आफ्ना सङ्गीतमा नै पनि धेरै गीत गाए । केही वरिष्ठ गायकहरूले पनि उनीद्वारा सङ्गीतबद्ध गीत गाएका थिए । त्यति मात्र होइन उनी सङ्गीतबारे लेख रचनाको निर्माण पनि गर्थे । उनले ‘बागीना’ (बाजा, गीत, नाच) त्रैमासिक पत्रिकाको पनि सम्पादन गरे । साथ उनी प्रशासनमा पनि रहे । अथवा भनौँ उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक पनि भए । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ललीतकला क्याम्पसमा सङ्गीत विषयमा प्राध्यापन पनि गरे । तर उनी चाहिँ स्नातक मात्र उत्तीर्ण थिए । ‘पढेर भन्दा परेर जानिन्छु’ भन्ने लोकोक्तिका उनी पनि एउटा नमुना थिए । त्यसैले उनले शैक्षिक प्रमाणपत्रको भन्दा व्यावहारिकतामा आधारित ओजपूर्ण काम गरे । उनी आफ्नो श्रुतिमधुर स्वरका कारणले ‘स्वरसम्राट्’ मा रूपान्तरित भए । नेपाली संसारमा उनको स्वर एउटा अपरिहार्य आविष्कार बन्यो–

आजै र राति के देखेँ सपना मै मरिगएको

बतासबिना हाँगाको फूल भै झरिगएको ।

नारायण गोपाललाई मन परेका महान् गीतकार राष्ट्रकवि माधव घिमिरे थिए भने सङ्गीतकारका रूपमा उनी नातिकाजीलाई मान्थे । तर पछिल्ला दिनमा ती दुवैसँग उनको मेल थिएन । उनी पनि कहिलेकाहीँ बहकिन्थे ।

नारायण गोपाल नेपाली माटोमा एउटा होनहार प्रतिभा थिए । उनका लागि देशदेशान्तरका नेपाली पनि एउटै थिए । उनी जातीयतालाई समेत नेपालित्वमा ट्याप्पै बाँध्ने हिम्मती पुरुष थिए । त्यसैले उनले दार्जिलिङकी पेमला लामासँग प्रेमविवाह गरे । एउटा कट्टर नेवार परिवारमा हुर्केका नारायण गोपाले २०२६ सालमा पेमला लामासँग हार्दिकताका साथ लगनगाँठो कसेका थिए ।

नेपाली साङ्गीतिक आकाशमा नारायण गोपाल एउटा अद्वितीय व्यक्तित्व थिए । उनी प्रस्ट व्यवहारका लखपति थिए । उनी मनमा कुरा लुकाउँदैनथे र भन्नुपर्ने कुरा प्याच्चै भनिदिन्थे । उनी नेपाल र नेपालित्वप्रति सारै गर्व मान्थे । उनी राष्ट्रभाषा, राष्ट्रिय पोसाक र राष्ट्रिय नीतिका कट्टर पक्षपाती थिए । उनी अशिष्ट र छोटो प्रवृत्तिका मान्छेलाई पटक्कै पन पराउँदैनथे । उनी स्वयं सहृदयी, मिलनसार र सिर्जनशील थिए । उनी गायनका एउटा आदर्श प्रतिमूर्ति थिए । त्यति मात्र होइन उनी आफ्नै सङ्गीतमा भाका मिलाई मिलाई गीत गाउने सफल गायक थिए–

दुइटा फूल देउरालीमा साथै राख्याँै जस्तो लाग्छ

कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ ।

नारायण गोपालले मन पराएका अर्का एक जना गीतकार थिए– जनराष्ट्रकवि ईश्वरबल्लभ ! उनीहरु धेरै मिल्ने कोटिमा पनि दरिन्थे । त्यसैले उनले आफ्नै सङ्गीतमा ईश्वरबल्लभका गीत गाएका थिए ।

नारायण गोपालले २०२३ सालको प्रतियोगितात्मक आधुनिक सङ्गीत सम्मेलनमा सर्वाेत्कृष्ट सङ्गीतकारको पुरस्कार प्राप्त गरेका थिए । उनले २०२४ सालमा गायनमा सर्वाेत्कृष्ट पुरस्कार प्राप्त गरेका थिए । अनि यो क्षण उनको जीवनको एउटा चिरस्मरणीय सुखद् घटना थियो । साथै उनी नेपाली सङ्गीत र स्वरका माध्यमबाट उत्कृष्टताको चुचुरोमा पुगेबापत रत्न रेकर्डिङ पुरस्कार, इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता गीत पुरस्कार, प्रबल गोरखा दक्षिणबाहु र विख्यात त्रिशक्तिपट्टबाट सम्मानित र विभूषित भए ।

नारायण गोपालले गायनका सिलसिलामा नेपालका विभिन्न जिल्लाहरूका अतिरिक्त भारत, बङ्गलादेश, बर्मा, चीन, थाइल्यान्ड, हङ्कङ, सोभियतसङ्घ, उत्तर कोरिया र पूर्वजर्मनी आदि मुलुकको पनि भ्रमण गरेका थिए । उनी केवल गायक मात्र भएर देशविदेश घुमेनन् । उनी एउटा उच्च बौद्धिक व्यक्तित्व पनि थिए । उनी मुलुकको राजनीतिक, सामाजिक र आर्थिक पक्षको पनि गहिरो अध्ययन, विश्लेषण र चिन्तन गर्ने गर्थे ।

नारायण गोपालले आफ्नो योग्यताले नै गीतका सारा पारखीलाई रिझाएका थिए । आफ्नो मीठो स्वर प्रस्तुत गरेर नै यी सबैका आफन्त भएका थिए । त्यसैले यिनले पनि आफ्ना श्रोताहरूलाई धुमधाम मन पराए । यिनले ठूलालाई मन पराए, सानालाई मन पराए र आफ्नी प्रेयसीलाई झनै मन पराए–

चिनारी हाम्रो धेरै पुरानो रहेझै लाग्दछ

नदेखे पनि भेट सधैँसधैँ भएझैँ लाग्दछ ।

नारायण गोपालका प्राणप्रिय साथी नगेन्द्र थापा थिए । उनले कर्म योञ्जनका सङ्गीतमा पनि थापाका शब्द गाए । एउटा मात्र नभएर उनले थापाका धेरै गीत गाए । अनि उनले रेडियो नेपाल र म्युजिक नेपालमा मात्र गीत गाएनन् । उनले नेपालका विभिन्न ठाउँहरूका सङ्गीतप्रेमीहरूका माझमा उभिएर पनि गीत गाए र विदेशमा रहेका नेपालीहरूका सामुन्ने पुगेर पनि गीत गाए । उनले जीवनमा थुप्रै आधुनिक गीत गाए, थोरै लोकगीत र केही नेवारी गीत पनि गाए । तर उनले जति गीत गाए अत्यन्तै राम्राराम्रा मात्र गाए । उनी गीत गाएर यस धर्तीका अविस्मरणीय प्रतिभा बने । उनको नेपाली सङ्गीतप्रतिको लगावले गर्दा उनी नेपाली सङ्गीतका विभूति बने ।

नारायण गोपालको जीवनकालमा नै उनका नाउँमा लुनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिरले नारायण गोपाल पुरस्कारको स्थापना गरेको थियो । उनको शेषपछि राष्ट्रिय युवा सेवा कोषबाट उनका नाउँमा नारायण गोपाल युवा पुरस्कार स्थापित भयो । साथै नेपाल सरकारबाट उनको चित्र अङ्कित हुलाक टिकटको पनि निर्माण भयो । अनि नेपाली साहित्यका विश्वनारी रत्न डा. वानीरा गिरीको अध्यक्षतामा नारायण गोपाल सङ्गीत कोष परिचालित भएको थियो र अहिले मुक्तक सम्राज्ञी उषा शेरचनका अध्यक्षतामा सो कोष सञ्चालित हुँदै आएको छ । पेमला गुरुवाचार्यले आफ्नो जीवनकालमा नै नारायण गोपाल र आफ्नो सारा सम्पत्ति उषा शेरचनका नाउँमा दर्ता गराएकी थिइन् । अनि शेरचनले पछि त्यो सबै सम्पत्ति नारायण गोपाल सङ्गीत कोशका नाउँमा नै दर्ता गराएकी थिइन् ।

नारायण गोपाल अत्यन्तै हक्की, झ्वाँक्की र स्वाभिमानी थिए । उनी प्रस्ट व्यवहारका धनी थिए । उनका मनमा, मस्तिष्कमा र व्यवहारमा नेपालको गहिरो छापा लागेको थियो । उनका लागि यो नेपाल नै विश्व थियो । उनले नेपाली भाषामा करिब एक सय पच्चीसवटा गीत गाए । गीत गाउँदागाउँदै नारायण गोपालले २०४७ साल मङ्सिर १९ गते आफ्नो जीवनलाई परलोक पु¥याए । तर उनी यस जगतमा सधैँ श्रद्धेय, माननीय र चिरञ्जीवी छन् । उनी यही नेपाली माटोमा सधैँ बोलिरहेका छन्, उनी यही नेपाली धरातलमा सधैँ बाँचिरहेका छन् र उनी यही नेपाली साङ्गीतिक बगैँचामा स्वरसम्राट् भएर नै सधैँ गुञ्जिरहेका छन् । उनका अर्का प्रिय गीतकार दिनेश अधिकारीका शब्द पनि उनको स्वरमा बाँचिरहेको छ–

यो सम्झिने मन छ म बिर्संू कसोरी

तिमी नै भनिदेऊ ए ! जाने निठुरी ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*